हास/७ जेठ ०७७, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोवेल कोरोना भाइरस (कोभिड–१९) ले विश्व महामारीको रुप लिँदै गर्दा ‘चिनियाँ भाइरस’ भन्दै भड्कावपूर्ण शब्दहरु प्रयोग गरिरहेका थिए । चीनबाट सकारात्मक पाठ सिक्नुपर्नेमा उल्टो चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि चीनले बन्दाबन्दी (लकडाउन) सुरुगरेका बेला बन्दाबन्दीलाई मानवअधिकारको उल्लङघन भएको बताइरहेका रहेका थिए । ट्रम्प प्रेस बिफ्रिङ गर्दै कोरोना भाइरस लेखिएको नोटमा समेत त्यसलाई काटेर चाइनिज भाइरसको संज्ञा दिनमै व्यस्त देखिन्थे ।
यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको उच्चजोखिमबारे सावधानी र सतर्कता अपनाउन विश्वलाई आग्रह गर्दै गर्दा अमेरिकाले उल्टो डब्लुएचओलाई दिँदै आइरहेको सहयोग समेत रोक्ने चेतावनी दिएको थियो । कोरोना भाइरसको संक्रमणबाट विश्वमै अप्रत्यसित मृत्युदर बढ्न थाल्यो र त्यसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेसँगै राष्ट्रपति ट्रम्पले सोमबार मात्रै विश्व स्वास्थ्य सङ्गठनका प्रमुखलाई पत्राचार गरेको छ । र, उक्त पत्रमा उसको दम्भ र चेतावनीको भाषा कायमै रहेको देखिन्छ ।
अमेरिकाले पत्रमा चीनको आलोचना गर्दै विश्व स्वास्थ्य सङ्गठनका प्रमुखलाई ३० दिनभित्र ठोस सुधार गर्न समयसीमा तोके पत्राचार गर्दै त्यसो हुन नसके अमेरिकाको सदस्यता स्थायीरुपमा गुमाउने चेतावनी दिएको छ ।
“हामीसँग बर्बाद हुने समय छैन् । त्यसैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको हैसियतमा मेरो कर्तव्य हो कि तपाइँलाई यो सूचित गर्नुपर्दछ,” पत्रमा भनिएको छ, “यदि विश्व स्वास्थ्य संगठनले ३० दिनभित्र ठूला सुधारहरू गर्न प्रतिबद्धता जनाएन भने, संयुक्त राज्य अमेरिकाले कोष अस्थायी फ्रिज र सदस्यता पुनर्विचार गर्नेछ ।”
राष्ट्रपति ट्रम्पले सोमबार प्रमुख टेड्रस अद्नोम गेब्रेससको नाममा पत्र पठाउँदै डिसेम्बर महिना यता विश्व स्वास्थ्य सङ्गठनले कोरोना रोकथाम र नियन्त्रणमा खेलेको भूमिका र जवाफदेहीतामाथि पनि गम्भीर प्रश्न उठाएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले विश्वब्यापी संकटकाल घोषणा गर्न ढिलाइ गरेको भन्दै ट्रम्पले अफ्रिकी नागरिक भाइरसबाट संक्रमित हुन पुग्दा चीनमा भेदभाव गरिएको, चीनमाथि गैर जवाफदेहीताको आरोप लगाउँदै सन् २००३ मा इबोला संक्रमणको बेला तात्कालीन प्रमुख डा. हरलेम ब्रन्डल्याण्डले कडा कदम चाल्दा इबोला समयमै नियन्त्रणमा आएर थुप्रैको ज्यान जोगिएको जसरी डा. अदनोम सक्रिय हुन नसकेको बताएका छन् ।
अमेरिकामा मंगलबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ९३ हजार ५ सय ३३ जनाको ज्यान गइसको छ । यस्तै १५ लाख ७० हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको र जसमध्ये ३ लाख ६१ हजार १ सय ८० जना निको भएको बताइएको छ ।
डब्लुएचओ, सीडीसी, एनएचएस, जेएचयु सीएसईईका अनुसार आज बिहानसम्म विश्वभर ३ लाख २४ हजार ९ सय ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । साथै, ४९ लाख ८८ हजार ९ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ भने कूल १९ लाख ५९ हजार १ सय ४९ जना निको भइसकेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले आफ्नो ट्वीटमा पोष्ट गरेको पत्र :