१३ असार ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चता प्रमाणित गर्दै लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
‘उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ,’ उनले भने, ‘यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ ।’
सम्बोधनका क्रममा संसद र आम जनसमुदायलाई प्रधानमन्त्री प्रचण्डले भ्रष्टचारविरुद्धको कार्वाहीलाई शुद्धीकरणको संज्ञा दिँदै अब यो क्रम नरोकिने बताए ।
यस्तै प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको भन्दै मिटरब्याजी, सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको बताउँदै वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा आफूलाई साथ दिन पनि प्रधानमन्त्रीले अपिल गरे ।
‘बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र । म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डुंगुर भत्काई छाडिनेछ,’ उनले भने, ‘सरकार त्यो दिशामा क्रियाशील छ ।’