३० माघ ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले भोलि (फागुन १ गते) देशभर जनयुद्ध दिवस भव्यताका साथ मनाउने जानकारी दिएका छन् ।
महासंघ कार्यालय पेरिसडाँडामा शुक्रबार उपत्यकामा उपलब्ध महासंघ पदाधिकारी र परिषद संयोजक बीच भएको अनौपचारिक छलफलपछि अध्यक्ष सिम्खडाले सातै प्रदेशमा अन्टुफले प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमको विरोध र सामाजिक सुरक्षा कार्यान्वयनमा जोड दिँदै जनयुद्ध दिवस मनाउने जानकारी दिएका हुन् ।
बागमती प्रदेश सभा सदस्य समेत रहेका अध्यक्ष सिम्खडाले भने, “महासंघले भोलि फागुन १ गते जनयुद्ध दिवस र आगामी फागुन ११ गते मजदुर बलिदान दिवस तथा शहीद परिवार अभिनन्दन गर्ने निर्णय गरिएको छ ।”
अन्टुफले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन, श्रम ऐनको श्रमजीवी मजदुर विरोधी दफाहरुको खारेजी, न्युनतम वेतन कार्यान्वयन, बेतन बृद्धिका साथै निश्कासित मजदुरको पुनर्वहालीका सशक्त कार्यक्रम बनाएर अघि बढ्ने समेत उनले बताए ।
उनले केपी शर्मा ओली सरकारको संसद विघटनको असंवैधानिक कदम, अवैधानिक नियुक्ति र निर्णयहरुका विरुद्ध नेकपा केन्द्रीय संघर्ष समितिले आयोजना गरेको माघ २८ को कार्यक्रममा सक्रियताका साथ भूमिका खेल्ने महासंघका सबै तहका कमिटी र नेता–कार्यकर्ताहरुलाई विशेष धन्यवाद समेत दिएका छन् ।