१७ माघ ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का केन्द्रीय अध्यक्ष जगत सिम्खडाले प्रतिगमनविरुद्धको आन्दोलनलाई सशक्त बनाउन र श्रमजीवी मजदुरको हक अधिकार प्राप्तिका लागि सिंगो संगठन र स्वयं आफैंलाई आफैंले सशक्त परिचालन गर्नुपर्ने बताएका छन् ।
बागमती प्रदेश सांसद समेत रहेका अध्यक्ष सिम्खडाले शनिबार अन्टुफको उपत्यकामा उपलब्ध केन्द्रीय पदाधिकारी, परिषद इन्चार्ज/अध्यक्ष, पेशागत संगठनका अध्यक्षहरूको बैठकमा प्रतिनिधिसभा विघटनको प्रतिगामी कदमविरुद्ध आन्दोलनलाई सशक्त बनाउन श्रमजीवी मजदुरहरुको अग्रणी भूमिका हुनुपर्नेका जोड दिँदै यस्तो बताएका हुन् ।
अध्यक्ष सिम्खडाले भने, “प्रतिनिधिसभा विघटनको प्रतिगमनविरूद्ध संघर्षलाई सशक्त बनाउन साथै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन गराउन, श्रम ऐनको दफा १४५ लगायत मजदुर विरोधी दफा खारेजी गर्न, न्यूनतम् वेतन कार्यान्वयन र निश्कासित मजदुरहरूको पुनर्वहाली गर्न संगठन र स्वयं आफैंलाई आफैंले सशक्त परिचालन गर्नु जरुरी छ ।”
यस्तै माघ २२ गते एफएनसीसीआईमा ज्ञापनपत्र बुझाउने, २८ गते हुने प्रतिगमनविरुद्धको संघर्षको कार्यक्रमलाई थप सशक्त बनाउने साथै फागुन १ गते सातै प्रदेशमा जनयुद्ध दिवस मनाउने र फागुन ११ गते मजदुर बलिदान दिवस तथा सहिद परिवारलाई अभिनन्दन गर्ने कार्यक्रम आजको बैठकले तय गरेको अन्टुफ सचिव सोम तामाङले जानकारी दिए ।
यसैगरी सचिव तामाङले जगदम्बा मोटर्सअन्तर्गत एसजी इन्जिनीयरिङबाट व्यवस्थापकले एकपक्षीय ढंगले श्रमिकहरु निश्कासन गरेपछि श्रमिकको पुनर्वहालीका लागि अखिल नेपाल अटोमोबाइल्स मजदुर संघद्वारा घोषित संघर्षको कार्यक्रमअनुसार माघ १८ गते आइतबार जगदम्बा मोटर्सको सबै प्रतिष्ठानहरु (जडबुटी, बालकुमारी, कुमारी पाटी, कुपण्डोल, टेकु, सानो भ¥याङ, कोटेश्वर नक्साल)मा कालो व्यानर र भण्डा राख्ने कार्यक्रम पनि बैठकले ठोस गरेको बताए ।