२४ पुस ०८१, विराटनगर । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला १० लाख धरौटी बुझाएर रिहा भएकी छिन् ।
मोरङका एसपी नारायण चिमोरियाका अनुसार जिल्ला अदालत मोरङको आदेशपछि सहकारी ठगी प्रकरणमा जोडिएकी कोइराला अदालतको आदेश बमोजिम १० लाख धरौटी बुझाएर रिहा भएकी हुन् ।
कोइरालालाई बुधबार मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।
गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना आरोपमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । शिक्षक समेत रहेकी कोइराला मुद्दा दर्तापछि विद्यालयबाट बिदा लिएर फरार थिइन् ।