२८ जेठ ०७७, काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले अछाम जिल्ला बयलपाटा अस्पताल घट्नाको मृतकका परिवारलाई क्षतिपूर्ति, निश्कासित कर्मचारीलाई पुनर्वहाली साथै दाेषीलाई कार्वाही गर्नुपर्ने बताएको छ ।
जेटियुसीसीकाे मंगलबार बसेको बैठकले आफ्नै शरीरमा अागाे लगाएर अात्महत्या गरेका सिद्धार्थ आउजीकाे परिवारलाई उचित क्षतिपूर्ति दिन, अस्पतालबाट निश्कासित सबै कर्मचारीलाई पुनर्वहाली गर्न र साथै उक्त घटनाका दाेषीलाई कार्वाही गर्नुपर्ने बताएको हाे ।
यस्तै जेटियुसीसीमा आवद्ध महासंघ अन्टुफ अध्यक्ष जगत सिम्खडाले राेजगारदाहरूलाई सरकारको निर्णय कार्यन्वयन गर्न, असंगठित क्षेत्रका श्रमिकहरूलाई नियुक्त पत्र, न्युनतम बेतन लागू गर्न, याेगदानमा अाधारित सामाजिक सुरक्षा कार्यन्वयन गर्न र कुनै पनि बाहनामा मजदुर निश्कासन नगर्न बैठकले कडा शब्दमा आग्रह गरिएको जानकारी दिए ।
बन्दाबन्दीकाे समयमा अग्रमाेर्चामा खटिरहेका स्वास्थ्यकर्मी लगायत मजदुरको स्वास्थ्य सुरक्षाको पूर्ण प्रत्याभूति गर्न, अकारण गरिने मजदुर कटाैती जेटीयुसीसीलाई अस्वीकार्य रहेकाे उनलेे बताए ।
अछामको बयलपाटा अस्पतालले जागिरबाट निश्काशन गरेपछि सिद्धार्थ आउजीले ०७७ जेष्ठ २६ गते अस्पातलको अकास्मिक कक्ष नजिकै आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्मदाह प्रयास गरेका थिए भने उनकाे उपचारक्रममा निधन भएको थियोे ।