१५ फागुन ०७४, काठमाडौं । मगर समुदायले विभिन्न कार्यक्रम गरी ३६ औं मगर दिवस मनाएका छन् ।
मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मगर दिवसको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागि भएका छन् ।
३६ औं मगर दिवस अवसरमा आयोजित कार्यक्रममा बादलसहित मगर समूदायका विभिन्न व्यक्तित्वहरु मगर भेषभूषमा सहभागि भएका थिए । कार्यक्रममा थापालाई आफ्नो समूदायबाट उच्च पदमा पुगेको भन्दै सम्मान समेत गरिएको थियो ।
नेपाल मगर संघ स्थापनाको दिनलाई मगरहरुले दिवसकै रुपमा मनाउने गर्छन् । समानता सामाजिक न्याय, अस्तित्व र अधिकार सम्पन्न समृद्ध समाजसहितको देश निर्माण अभियानमा टेवा पुर्याउने उद्देश्यसहित २०३९ साल फागुन १५ गते नेपाल मगर संघ स्थापना भएको हो ।
मगर दिवसका साथै मंगलबार नेपाल मगर संघको २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन पनि परेको छ । सम्मेलनका लागि ‘पहिचान सहितको संघीयता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधनः सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६ औं राष्ट्रिय सम्मेलन’ नारा तय गरिएको छ ।
सम्मेलनमा ६९ वटा जिल्ला समिति, ६ वटा भातृसंस्थाहरु, वैदेशिक शाखा/सस्थाहरु, आवद्ध संस्थाहरु र राजनीतिक मगर जायीय मोर्चा तथा संगठनहरुको प्रतिनिधिहरु गरी ५०० जनाको सहभागिता रहने नेपाल मगर संघले जनाएको छ ।
कार्यक्रमअघि भृकुटीमण्डपदेखि टुँडिखेलसम्म ¥याली निकालिएको थियो ।