२० फागुन ०७४, काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडनोकर्नर नोटिस जारी गरिएका सकिल हुसेनलाई कतारी प्रहरीले पक्राउ गरी नेपाल ल्याएको छ ।
व्यक्तिहत्या शृंखला चलाउँदै करोडौं रुपैयाँ असुलेर ४ वर्षअघि कतार पुगेका सप्तरीका सकिललाई कतारी प्रहरीले पक्राउ गरी नेपाल ल्याएको हो । सकिललाई कतारी प्रहरीले फागुन पहिलो साता पक्राउ गरेको थियो ।
कतारी प्रहरीले उनलाई आइतबार विमानमा उच्च सुरक्षासाथ काठमाडौं ल्याएर नेपाल प्रहरीलाई जिम्मा लगाएको हो । नेपाल प्रहरीले ०७२ असार ४ मा पत्राचार गरेपछि इन्टरपोलले असार ६ मा सकिलको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो ।
उनले २०६४ देखि ०७० बीच मात्रै सुनसरी र सप्तरीमा ८ जनाको हत्या गरेका थिए । टकुलिया ७ सप्तरी घर भएका सकिलले ०६४ वैशाख २६ गते सप्तरी मल्हनियाका आरुल मियाँको हत्या अभियोगमा ०६८ मंसिरमा पक्राउ परेर राजविराज कारागारमा थुनामा परेका थिए । २६ माघ ०६८ मा पुनरावेदन अदालत राजविराजको आदेशले थुनामुक्त भए ।
त्यसपछि उनी उस्तै प्रकृतिको रकम असुली र व्यक्ति हत्याको बाटामा हिँडिरहे । बारम्बार जेल पर्दै राजनीतिक पहुँचको भरमा छुटदै फेरि अपराधकर्मका संलग्न हुँदै हिँडेको सकिलको इतिहास छ ।
०७० मंसिर ४ मा सप्तरी जन्डौलकी दुलारीदेवी साह, ०६९ असोजमा सप्तरीकै सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या गरेका थिए । ०७० चैत २ मा सप्तरी, त्रिकोलकी निर्मलादेवी साहको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
ठगी र व्यक्ति हत्यामा संलग्न सकिल समूह नै बनाएर अपराधकर्ममा उद्यत थिए । निकट सहयोगीहरू धमाधम पक्राउ पर्न थालेपछि उनी कतार हिँडेका थिए । जेलमा रहेका आफन्त वा परिवारजनका सदस्य छुटाउने भन्दै मोटो रकम असुल्ने र परिवारकै सदस्यको हत्या गरी बेपत्ता हुने उनको अपराधशैली थियो ।
०७० चैत २ गते सप्तरीको त्रिकौल गाविसकी निर्मलादेवी साहको हत्यामा पनि सकिलको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । ०७० कै पुसमा सुनसरी इनरुवा ७ का एकै परिवारका सदस्य इद्रिश नट मियाँ, जैतुन खातुन र सेरुन खातुनको हत्या पनि सकिलले नै गरेको प्रहरीको निष्कर्ष छ ।
नेपाल प्रहरीको इन्टरपोल शाखाले सन् ०१७ मा सकिलसहित ७ अपराधीलाई विश्वका विभिन्न देशबाट पक्रेर वा डिपोर्ट गराएर नेपाल ल्याएको छ । प्रहरीले १९ नेपाली र दुई विदेशीको नाममा इन्टरपोलमार्फत रेडकर्नर नोटिस र १९ जनाको नाममा डिफ्युजन नोटिस जारी गरेको छ ।
नेपालभित्र विभिन्न अपराध गरेर विदेश फरार भएका अभियुक्तहरूको नाममा प्रहरीले रेडकर्नर नोटिस र डिफ्युजन नोटिस जारी गर्छ । यस्तो नोटिस जारी गरिएपछि अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनका एक सय ९२ सदस्यराष्ट्रभित्र त्यस्ता व्यक्तिको खोजी र निगरानी सुरु हुन्छ ।