सातै प्रदेशमा निर्वाचित सदस्यहरूको शपथ आज

७ माघ ०७४, काठमाडौं । सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यहरूले आज सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आइतबार  संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका हुन् ।

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो । आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरु गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबारै गराउनुपरेको हो ।

प्रदेश नं १ को शपथग्रहण कार्यक्रम विराटनगरस्थित वीरेन्द्र सभागृहमा सम्पन्न भएको छ ।  । शपथमा सहभागी हुन १४ वटै जिल्लाबाट सदस्यहरू आइसकेका छन् । प्रदेश १ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी ९३ जना सदस्य छन् । उनीहरूलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले शपथ खुवाउनेछन् ।

प्रदेश नं २ को शपथग्रहण कार्यक्रम जनकपुर उद्योग वाणिज्य संघको कार्यालयमा सम्पन्न भएको छ । आयोजित सपथग्रहण समारोहमा सर्वप्रथम प्रदेश प्रमुख रत्नेश्वरलाला कायस्थले सांसद मध्येका जेष्ठ सदस्य लगनलाल चौधरीलाई सपथ खुवाएका थिए । त्यसपछि चौधरीले अन्य प्रदेश सांसदलाई सपथग्रहण गराएका हुन् ।

प्रदेश नं २ मा १०७ जना सांसदले सपथ लिएका छन् सपथग्रहणका क्रममा भाषाको विषयमा केहीबेर विवादसमेत भएको थियो । नेपाली भाषामा तयार गरिएको सपथ सांसदहरुले आ–आफ्नो मातृभाषामा सपथ लिएका थिए । पछि नेपाली भाषामा लेखिएको सपथमा हस्ताक्षर गर्न सांसदहरुले अस्वीकार गरेका थिए ।  त्यसपछि नेपाली भाषाको सपथलाई सबैले आ-आफ्नौ मातृभाषामा लेखेर हस्ताक्षर गरे ।

प्रदेशसभा सदस्यहरुको सपथलगतै प्रदेश प्रमुखले २१ गते पहिलो बैठक आहृवान गरेको छ ।

प्रदेश नं ३ का शपथग्रहण कार्यक्रम  क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा प्रदेश सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ ।

सुरुमा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई सपथ ग्रहण गराएकी थिइन् । त्यसपछि पौडेलले प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण समारोहमा कतिपय सांसदहरु आफ्नो मौलिक भेषभुषामा सजिएर उपस्थित भएका थिए । प्रदेश ३ को पहिलो बैठकको समय पनि निश्चित भइसकेको छैन ।

प्रदेश नं ४ का शपथग्रहण कार्यक्रम  प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा सम्पन्न भएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ खुवाएका थिए । ज्येष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नं ४ का प्रदेश सभा सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।

प्रदेश नं ५ का शपथग्रहण कार्यक्रम बुटवल उद्योग बाणिज्य संघको हलमा सम्पन्नहुँदैछ । प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललार्इ सपथ गराउनेछन् । बाँकी प्रदेशसभा सदस्यहरूलार्इ भने पोखरेलले सपथ गराउने छन् । सपथ ग्रहण बुटवल उद्योग बाणिज्य संघको हलमा हुनेछ ।

प्रदेश नं ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् ।

प्रदेश नं  ६ का प्रदेशसभा सदस्यहरूको शपथ जिल्ला समन्वय समितिको हलमा खुवाउने तयारी गरिएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार ११ बजे प्रदेशसभाका ४० जना सदस्यलाई शपथ खुवाउनेछन् । क्षेत्रीय प्रशासन कार्यालयले २ महिनाअघिदेखि नै प्रदेश प्रमुख र प्रदेश संसद् भवनको छनोट गरे पनि सरकारले प्रदेश प्रमुखको कार्यालय व्यवस्थापनमा ढिलाइ गर्दा जिसस हलमा शपथ खुवाउन लागिएको हो ।

प्रदेश ७ को प्रदेशसभा सदस्यहरूको शपथ जिल्ला विकास समितिको सभाकक्षमा शपथग्रहण समारोह हुँदैछ । आइतबार बिहान १० बजे शपथग्रहण समारोह राखिए पनि प्रदेश प्रमुख तथा प्रदेश सांसद धनगढी नपुगेका कारण दिउँसो २ बजे  शपथग्रहण कार्यक्रम सारिएको छ ।

प्रदेश प्रमुख मल्लले कार्यभार सम्हाल्नेछन् । लगत्तै जेष्ठ सदस्य दिव्यश्वेरी साहलाई सपथ गराउनेछन् । प्रदेशसभाका अन्य सदस्यहरुलाई साहले पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम तय भएको छ ।

तपाइको मत