२८ साउन ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले लाखौंको संख्यामा युवाहरु बेरोजगार रहेको भन्दै सरकारले युवाहरुका लागि घोषणा गरेको बजेट, कार्यक्रम र योजनाहरु अपर्याप्त रहेको बताएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार सम्पूर्ण युवाहरुलाई एक शुभकामना सन्देशमार्फत् महासंघले यस्तो बताएको हो ।
महासंघका अध्यक्ष जगत सिम्खडाद्वारा हस्ताक्षरित सन्देशमा देशभित्रै बेरोजगार रहेका युवालाई आवश्यक योजना र कार्यक्रमका माध्यमबाट रोजगारीमा जोड्न र बैदेशिक रोजगारीमा रहेका युवाहरुका शीपलाई स्वदेशमै प्रयोग गरेर देश विकासमा लगाउन नेपाल सरकारसित जोडदार माग गरिएको छ ।
“हाम्रो संगठन बैदेशिक रोजगारीमा रहेका युवाहरुको रक्षा गर्न र उनीहरुका अमूल्य शीपलाई स्वदेशमै प्रयोग गरी देश विकासमा लगाउन नेपाल सरकारसित जोडदार माग गर्दछ,” शुभकामनामा भनिएको छ, “सरकारले युवाहरुका लागि घोषणा गरेको जे जति कार्यक्रम र योजनाहरु छन् ती अपर्याप्त छन् । लाखौंको संख्यामा युवाहरु बेरोजगार छन् । उनीहरुलाई रोजगारीमा जोड्न र काममा जुटिरहेकाहरुको कामको रक्षा सरकारको प्राथमिकता हुनुपर्दछ ।”
यस्तै उक्त शुभकामना सन्देशमा विश्वकै आमूल परिवर्तनका लागि प्रतिक्रियावादी शासकीयस्वरुप ध्वंश गर्दै समाजवाद उन्मुख जनताको समाजवादतर्फ अग्रसर; समान अधिकार र समानताका खातिर नयाँ विश्व निर्माणमा जागृत विचार, विधि र पद्दतिका लागि संघर्षशील सम्पूर्ण युवा पंक्तिलाई महासंघले अविछिन्न अघि बढिरहन शुभकामना व्यक्त समेत गरेको छ ।
“युवा पिंढीको अर्थ अवसरको खोजी, रोजगारीको खोजी नयाँ र वस्तुनिष्ठ परिवर्तन र विज्ञानको खोजी पनि हो” शुभकामनामा उल्लेख छ, “हामी जहाँ जे जस्तो अवस्थामा रहे पनि गलत प्रवृत्ति, गलत संस्कार, विकृत राजनीति र भ्रष्टाचारविरुद्ध कडा कदम चालेनौ भने हाम्रो अपेक्षामा रहेका विशाल पंक्तिमा निराशा छाउने निश्चित छ । त्यसैले त्यो अवस्था आउन दिनु हुँदैन ।”
यसैगरी अतिक्रमित नेपाली भूभागको भू–उपयोगका विषयमा सम्पूर्ण युवा एकजुट हुनुपर्ने भन्दै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) खारेज गरेर देशको सार्वभौमिकता जोगाउन समेत युवापुस्ता एकढिक्का हुनु पर्ने उल्लेख छ ।
सुशासन कायम गर्न भ्रष्टाचार र अवसरवादी चरित्र अन्त्य गरिनुपर्ने र यसका लागि आफैंले आफैँलाई सच्याउन जरुरी रहेको पनि सन्देशमा उल्लेख गरिएको छ ।
सन्देशमा विसङ्गति, विकृति र गलत राजनैतिक संस्कारलाई फेर्न युवा पिँढीलाई एकजुट हुन आग्रह गरिएको छ ।