६ जेठ ०७७, काठमाडौं । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम दुबै सदनले पारित गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा पारित भएको हो ।
सरकारको नीति कार्यक्रमको विपक्षमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले मतदान गरेका थिए ।
नीति कार्यक्रम पारित हुनुअघि पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए ।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल, कांग्रेसका सांसद मीनेन्द्र रिजाल, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीकी सांसद सरिता गिरीले संशोधन प्रस्ताव फिर्ता नलिएपछि बहुमतले अस्वीकृत भएको थियो ।
संशोधनकर्ता गिरी बैठक अनुपस्थित रहेकी थिइन् तर प्रस्तावलाई प्रक्रियामा लगिएको थियो ।
यस्तै, बैठकले केही नेपाल ऐनका साविकका व्यवस्था जगाउने अध्यादेश सर्वसम्मत स्वीकृत गरेको छ । यसअघि सरकारले जारी गरेका दुई अध्यादेश खारेज भए पनि साविकको व्यवस्था जगाइएको थिएन ।