२ कार्तिक ०७४, काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’को नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय जनस्वयमसेवकका केन्द्रीय अध्यक्ष सुदिप मल्लले वाम एकतामा सहभागी हुने बताएका छन् । साथै, उनी एमाले–माओवादीको गठबन्धनमा सहभागी हुने भएका छन् ।
युद्धकालमा विग्रेड कमिसार रहेका मल्लले बिहीबारदेखि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको फेसबुकमार्फत जानकारी गराएका हुन् ।
‘दुनियाँ बदल्ने महान जिम्मेवारी र यात्रा भने अविराम रहने छ ।’ मल्लले फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति सदस्य तथा राष्ट्रिय युवा जनस्वयमसेवकको अध्यक्ष लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु ।’
मल्लले पोखराको बैठकमा राजनीतिक, सैद्धान्तिक, सांगठनिक विषयमा आफ्नो मत राख्दा सम्मान नगरिएपछि राजीनामा दिएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले भने विज्ञप्ति निकालेर मल्ललार्इ पार्टीबाट निस्काशन गरिएको जनाएको छ ।