१२ माघ ०७४, सप्तरी । नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य मातृकाप्रसाद यादवले वाम गठबन्धनलाई मधेशको जनताले खुद्रा रुपमा मात्रै स्वीकार गरेको बताएका छन् ।
वाम गठवन्धबाट प्रतिनिधि सभामा धनुषा क्षेत्र नम्बर १ बाट विजयी यादवले शुक्रबार राजविराजमा अायाेजित सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
‘मधेशको जनताले वाम गठबन्धनलाई खुद्रा रुपमा स्वीकार त गर्याे जुनरुपमा गर्नु पर्दथ्यो त्यसरी गरेनन् ।’ नेता यादवले भने, ‘दुई नम्बर प्रदेशमा जनताले मधेशवादी शक्तिलाई जनादेश दिएको छ ।’
वाम गठबन्धन र मधेशवादी दलले जनमतको कदर गरेर अगाडि बढ्नु पर्ने बताउँदै नेता यादवले मधेशका केही नेताले मधेशी जनतालाई भावनामा बगाउन खोजेको अाराेप समेत लगाए ।
उनले मधेशी जनतामा अझै पनि चेतनाको अभाव र मधेशवादी दलका नेताहरु मुद्दामा अस्पष्ट रहेको बताए ।
‘वामसँग विचार छ तर भावना छैन, मधेशसँग भावना छ तर विचार छैन’ नेता यादवले भने ।
उनले देशलाई सबल बनाउन मधेश र पहाडले एक अर्काको आलोचना गर्नु भन्दा पनि सुझाव, सल्लाह लिनु र दिनु पर्ने भन्दै सहकार्य जरुरी रहेकोमा जोड दिए ।
दुई नम्बर प्रदेशमा मधेश गठबन्धनको सरकार बन्ने तर मधेशवादी नेतामा संकिर्णता रहेको बताए ।
कांग्रेस मधेशको हित गर्ने पार्टी नरहेकाे भन्दै यादवले भने, ‘कांग्रेस मधेशको हित गर्ने पार्टी भएको भए प्रचण्डले ल्याएको संविधान संशोधन प्रस्ताव किन जस्ताको त्यस्तै टेबुल गराएन् ।’