२४ बैशाख ०७८, काठमाडौं । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ ।
एमालेका नेता रामबहादुर थापा, कांग्रेस-माओवादी गठबन्धनबाट खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका छन् ।
थापाको प्रस्तावकमा मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक सामाजिक विकास मन्त्री सरस्वती बस्नेत छन् ।
यस्तै देवकोटाको प्रस्तावक माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेस रहेको छ । जसमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल प्रस्तावक र समर्थकमा कांग्रेसकी राधा घले रहेकी छन् ।
आज शुक्रबार निर्वाचन अधिकृत कार्यालय हेटौंडा पुगेर थापा, देवकोटा र तामाङले उम्मेदवारी दर्ता गरेका हुन् ।
गृहमन्त्री समेत रहेका एमाले नेता थापा २०७४ सालमा बागमती प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।
पूर्वमाओवादी नेता रहेका थापा एमालेमा प्रवेश गरेपछि उनको पद गुमेकाले रिक्त ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।