राष्ट्रपतिबाट राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

८ बैशाख ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार दुई अध्यादेशहरु जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को बैठकले आजै पारित गरेको राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश पारित गरेको केही घन्टाभित्रै राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “आज मिति २०७७ साल बैशाख ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा देहायका अध्यादेशहरु जारी गर्नुभएको छ ।”

विज्ञप्ति :

ती अध्यादेश आजै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धमा ल्याएको अध्यादेशमा ऐनमा रहेको ‘केन्द्रीय समिति र संघीय संसदको संसदीय दलमा’ भन्ने पदावलीको सट्टामा ‘र’ लाई हटाएर ‘वा’ बनाई ‘केन्द्रीय समिति वा संघीय संसदको संसदीय दलमा’ बनाउने निर्णय गरेको थियो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषदको बैठकको गणपूरक संख्या ५ जनाबाट चार जनामा बनाउने अध्यादेश पनि पारित गरेको थियो ।

राष्ट्रपतिले जारी गरेको अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान रहेको छ ।