५ साउन ०७८, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुफ’ले योगदानमा आधारित सामाजिक सुरक्षा र श्रम ऐनको कार्यान्वयनमा श्रम प्रशासनको सवलीकरण सम्बन्धी कार्याशाला सम्पन्न गरेको छ ।
महासंघले सोमबार आइएलओ नेपालको सहकार्यमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक, नेपाल सरकारका प्रतिनिधि, रोजगारदाताका प्रतिनिधि साथै अन्टुफसम्बद्ध विभिन्न पेशागत संगठनको नेतृत्वसँग एकदिने कार्याशाला सम्पन्न गरेको हो ।
आइएलओ नेपालका प्रतिनिधि सौरभ साहले आइएलओ नेपालले आफ्नो छलफलहरुमा योगदानमा आधारित सामाजिक सुरक्षा र श्रम ऐनको कार्यान्वयनमा चुनौती देखिएको भन्दै यसका पछाडि के कारण हुनसक्छ भन्ने खोजीको विषय रहेको बताए ।
उनले प्राविधिक पक्षलाई कोट्याउँदै कोरोना महामारी पहिलो कारण हुनसक्ने र दोस्रो पक्ष कार्यन्वयनमा बाटो नै नखुलेको होकी ? वा श्रम प्रशासनको षडयन्त्रले समेत काम गरेको हुनसक्ने बताए ।
यस्तै श्रम विभागका निर्देशक मणिनाथ गोपले सामाजिक सुरक्षा योजना सफल बनाउन र यसको कार्यान्वयनमा जोड दिँदै नवीकरणमा आउने तर सामाजिक सुरक्षा कोषमा सुचीकरण नभएका प्रतिष्ठानहरुलाई सुचीकरणपछि मात्रै नवीकरण गर्ने गरेको बताए ।
रोजगारदाता र सरोकारवाला निकायले योगदानमा आधारित सामाजिक सुरक्षा र श्रम ऐनको कार्यान्वयन गर्नुको विकल्प नरहेको भन्दै निर्देशक गोपले भने, “मैले ट्रेड युनियनलाई बिजुलीको करेन्टको रुपमा बुझेको छु । करेन्टलाई राम्रोसँग चलाउन र प्रयोग गर्न सक्यौं भने उज्यालो दिन्छ नत्र त्यसले ज्यान पनि लिनसक्छ ।”
यस्तै सामाजिक सुरक्षा कोषका सञ्चालक एवम् सिएनआईका उपाध्यक्ष राजेश अग्रवालले सरकार सबैभन्दा ठूलो रोजगारदाता रहेको बताउँदै सामाजिक सुरक्षा कोषका सवालमा श्रमिक र रोजगारदातालाई मात्रै हेर्न नहुने बताए ।
“विभेद किन ? रोजगारदाता र मजदुर मात्रै सामाजिक सुरक्षामा किन ? सरकार सबैभन्दा ठूलो रोजगारदाता हो नि !” उनले भने, “संचय कोषका सवालमा विषय उठिरहेको छ, श्रमिकले आफ्नो सुविधा तुलना गर्छ, गर्छ । हामीले श्रमिकलाई केही थप सुविधा दिने हो भने सामाजिक सुरक्षा आउँछ ।”
यस्तै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का सदस्य बाबुकाजी कार्कीले नेपाली उद्योगमा विदेशी श्रमिक राख्नु परेको कारण बताउँदै हामीसँग दक्ष जनशक्ति अभाव रहेको बताए ।
उनले उद्योग वाणिज्य महासंघले वार्षिक ४ लाख जनशक्तिलाई रोजगार दिनेगरी लागिरहेको बताउँदै भने, “हरेक वर्ष चार लाख रोजगारी कसरी सृजना गर्ने भनेर हामी लागिरहेका छौं । अहिलेको कार्यसमितिले भिजन पेपरमा समेत राखेको छ ।”
यसैगरी सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा उत्साहका साथ कार्यान्वयनमा नआउनुको कारण चेतना र प्रचारप्रसारको कमी रहेको स्वीकार गर्दै दोस्रो संशोधनका कारण केही समयका लागि चेलनामुलक कार्यक्रम बन्द रहेको बताए ।
उनले सबै पालिकामा युनिट रहेको बताउँदै प्रधानमन्त्री स्वोरोजगार कार्यक्रमसँग समन्वय गरेर अघि बढ्ने साथै स्वरोजगार र अनौपचारिकमा श्रमिकको परिभाषामा स्पष्ट गर्दै आवश्यक संशोधनमार्फत् कमजोरी सच्याउने प्रतिवद्धता जनाए ।
यसैगरी कार्यशालाका प्रमुख अतिथि एवम् जेटीयुसीसीका अध्यक्ष जगत सिम्खडाले श्रम ऐन, सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि आफूहरु अवश्यक परे संघर्ष गर्ने उद्घोष गरे ।
अध्यक्ष सिम्खडाले अहिले माओवादी केन्द्र सम्मिलित संयुक्त सरकार भए पनि मजदुरका हक, हित र अधिकारका लागि आफूहरु चुप लागेर नबस्ने बताए ।
उनले भने, “योगदानमा आधारित सामाजिक सुरक्षा, न्युनतम वेतन र श्रम ऐन कार्यान्वयन गर्ने सवालमा हाम्रो आफ्नै पार्टीको सरकार छ भनेर हामी चुप लागेर बस्नेवाला छैनौं ।”
अधिवक्ता युवराज लुईंटेलले श्रम ऐन र सामाजिक सुरक्षा कार्यान्वयनमा देखिएका चुनौति र यसका कानुनी पक्षका विषयमा धाराणा राखेका थिए भने अन्टुफ उपाध्यक्ष धन बहादुर विकले सञ्चालन तथा सहजीकरण गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य अन्टुफ कार्यवहाक महासचिव शालिकराम काफ्लेले राखेका थिए ।