१५ चैत्र ०७७, काठमाडौं । मेलम्चीको खानेपानी आइतबार दिउँसो भल्भ खोलेर काठमाडौंबासीको घर–घरमा वितरणको शुभारम्भ गरिएको छ ।
उपत्यका खानेपानी बोर्डका अध्यक्ष सञ्जीव राणा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड –केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलन शाक्य लगायतले संयुक्त रुपमा महांकालचौर क्षेत्रमा आइतबार दिउँसो भल्भ खोलेर पानी वितरणको शुभारम्भ गरेका हुन् ।
महांकालको ट्यांकीबाट देवकोटा सडक, बत्तिसपुतली, जयबागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्ग लगायत क्षेत्रका धाराहरुमा पानी पठाइएको छ ।
साँझ बानेश्वर (मिनभवन) र अनामनगरको पानी ट्यांकीमा जोडिएका वितरण लाइनबाट पानीको वितरण भयो भने रातिबाट खुमलटारमा बनेको नयाँ ट्यांकीबाट पानी पठाइनेछ ।
केयूकेएलका अनुसार प्रशोधन गरेर पिउन योप्य बनाइएको ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा हालिएको छ ।
अब दुई–दुई दिनको अन्तरमा बालाजुस्थित पानी पोखरी, बाँसबारी र महाराजगञ्जस्थित पानी ट्यांकीहरुबाट पानी वितरण थालिनेछ । त्यसपछि कीर्तिपुर, ठिमी, भक्तपुरस्थित ट्यांकीहरुबाट पानी वितरण हुनेछ ।
केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार सुरुमा पुरानै वितरण सञ्जालबाट पानी वितरण गरिएको छ । अब काठमाडौंमा बिछ्याइएका करिब ११ सय किलोमिटर नयाँ वितरण लाइनमा पनि परीक्षण गर्दै पानी छोड्दै जाने योजना छ । यो परीक्षणका लागि दैनिक ३ देखि ४ करोड लिटर पानी छुट्याइने छ ।
सुरुङमार्फत सुन्दरीजलमा झारिएको मेलम्चीको पानी प्रशोधन गरेर ४ स्थानमा रहेका ट्यांकीमा जम्मा गरिएको थियो ।