मालेको सांसद माओवादी केन्द्रमा प्रवेश

२२ असोज ०७४, काठमाडौं । नेकपा मालेको सांसद कलशादेवी महरासहित ७ नम्बर प्रदेशको सिंगो कमिटी माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसद महरासहित मालेको प्रदेश नम्बर ७ को पार्टी कमिटीलाई नै माओवादी केन्द्र प्रवेश गराएका हुन् ।

सांसद महराले ध्रुवीकरण समयको माग भएकाले आफूसहित प्रदेश नम्बर ७ को कमिटी नै माओवादीमा ध्रुवीकृत हुन आएको बताइन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामपन्थी, प्रगतिशीलहरूको एउटै शक्तिशाली पार्टी बनाउने, देशको राजनीतिक नेतृत्व लिने र जनताको हितमा काम गर्ने गरी ठूलो ध्रुवीकरण चलेको र यो समयको माग भएको बताए ।

उनले काठमाडौंबाट धेरै टाढा रहेको प्रदेश नम्बर ७ का जनतामा राजनीतिक चेतना काठमाडौंवासीकै बराबर रहेको भन्दै अब त्यहाँ आर्थिक समृद्धि र विकास आवश्यक रहेको बताएका थिए ।

तपाइको मत