३० फागुन, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गरेर परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसपटक शिक्षा परीक्षा आगामी चैत ३ गते बिहीबारबाट सुरु हुने जनाएको हो ।
पहिलो दिन चैत ३ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यसैगरी चैत ४ गते अनिवार्य नेपाली, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, चैत ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, चैत १० गते ऐच्छिक गणितको परीक्षा संचालन हुनेछ ।
विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा विभिन्न प्राविधिक विषयसमेत गरी चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जनाएको छ ।
परीक्षा नियन्त्रक अम्विकाप्रसाद रेग्मीले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै परीक्षाका लागि आवश्यक प्रश्न पत्र, उत्तरपुस्तिका, लगायत परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण सामग्री सम्बन्धित जिल्लामा पुर्याइसकिएको समेत जानकारी दिइन् ।
यस वर्षको परीक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि १ हजार ९ सय २३ केन्द्रको व्यवस्था गरिएको छ ।