माओवादी केन्द्रले पार्टी केन्द्रमा मजदुरको १० प्रतिशत प्रतिनिधित्व गराउने !

१४ असार ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा मजदुरको १० प्रतिशत प्रतिनिधित्व गरिने बताएका छन् ।

सोमबार अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा  मजदुरको प्रतिनिधित्व सुनिश्चित गर्ने नीतिगत निर्णय गरिएको भए पनि कार्यान्वयनमा जाँदा प्रभावकारी रुपले कार्यान्वयन नभएको भन्दै यस्तो बताएका हुन् ।

“विगतमा मजदुरको निश्चित प्रतिशत पार्टी केन्द्रमा सहभागिता/प्रतिनिधित्व गराउनु पर्छ भन्ने नीतिगत निर्णय हामीले गरेका छौं तर त्यो नीतिगत निर्णय कार्यान्वयनमा जाँदा प्रभावकारी रुपले कार्यान्वयन भएको छैन्,” अध्यक्ष प्रचण्डले भने, “म यस विषयलाई आत्मसात् गर्छु । शान्ति प्रक्रियामा आएपछि जुन वर्गलाई, समुदायलाई प्राथमिकतामा राखेर संगठित र प्रशिक्षित गर्नुपर्ने र जीवन्त सम्बन्ध बनाउनु पर्ने थियो त्यसो नभएर नेतृत्वको वरिपरि आउने, कचकच गर्ने अवसरवादीहरुले स्थान पाएजस्तो र इमान्दारहरु ओझेलमा परेको भन्ने सुझाव पनि प्राप्त भएको छ । यस सवालमा हामीले गम्भीरतापूर्वक समीक्षा गरेका छौं ।”

यस्तै नेपाली ट्रेड युनियन आन्दोलनभित्र अन्टुफको संगठनात्मक संरचना र क्रियाशीलता गर्व गर्न लायक रहेको पनि उनले बताए ।

“ट्रेड युनियन आन्दोलनभित्र हाम्रो यो महासंघको जुन संगठनात्मक संरचना छ, त्यो गर्व लायक छ,” उनले भने, “एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको बेलामा मैले गर्वको साथ भन्न पाएको थिएँ कि सबैभन्दा व्यवस्थित संगठन भनेर । ट्रेड युनियन महासंघले हाम्रो शीर उच्च बनाएको थियो । कतिपय मान्छेहरुले हेप्न खोज्ने, केही संरचना पनि छैन, रेकर्ड पनि छैन् भनेजस्तो गर्ने गर्थे तर ट्रेड युनियनको  व्यवस्थित संरचना र रेकर्डले तिनीहरुको बोली बन्द भएको थियो ।”

अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय अध्यक्ष जगत सिम्खडाको अध्यक्षतामा बसेको अन्टुफ केन्द्रीय समिति बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यता र फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको आतिथ्यता रहेको थियो । भर्चुअलरुपमा भएको उक्त बैठकमा उपाध्यक्षद्वय धनबहादुर विक र एसबी थापा मगर साथै कार्यवहाक महासचिव शालिकराम काफ्लेले सहजीकरण गरेका थिए ।