माओवादी केन्द्रको विधान मस्यौदा सर्वसम्मत पारित

१७ पुस ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्द सत्रले स्थायी कमिटी सदस्य कमरेड देवप्रसाद गुरुङद्वारा प्रस्तुत गरेको विधान मस्यौदा पारित गरेको छ ।

विधान मस्यौदामाथि आएका सुझाव र उठेका सवालहरुको जवाफ दिइसकेपछि नेता गुरुङले विधान मस्यौदा पारित गर्न प्रस्ताव गरेपछि सर्वसम्मतले पार्टीको विधान पारित भएको हो ।

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छन् भने केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ ।

५० प्रतिशत रहेको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।