काठमाडौं । मधेस र मधेसी जनताको नाममा प्रतिवेदन बुझाएर दातृ निकायसँग ठूलो मात्रामा रकम ल्याउने तर त्यसको हिसाव नदेखाउने प्रवृत्ति बढ्दै गएका बेला मधेस फाउन्डेसनको गतिविधिबारे जानकारी माग्दै राष्ट्रिय सूचना आयोगमा उजुरी परेको छ ।
फाउण्डेशनमाथि लगानी र त्यसले गरेको खर्च विवरण लुकाइएको दाबी गर्दै जनकपुरका अरुणकुमार साहले राष्ट्रिय सूचना आयोगमा उजुरी दिएका हुन् । उनले फाउण्डेशनको कार्यालयमा सो सम्बन्धी सूचना माग गर्दा नदिइएको जनाउँदै राष्ट्रिय सूचना आयोगमा जानु परेको वताए ।
फाउण्डेशनका अध्यक्ष तुलानारायण साह मधेस अधिकारकर्मी र राजनीतिक विश्लेषकका रुपमा चिनिन्छन् । मधेसी मोर्चाको आन्दोलनका लागि सामाजिक लबिङ गर्ने र मधेसी जनतालाई राज्यले हेला गरेका रिपोर्टहरु बनाउने काम फाउण्डेशनले गर्दै आएको छ । फाउण्डेशनमाथि युरोपियन युनियन र पश्चिमा एनजीओहरुको आर्थिक लगानी छ ।
मधेसी जनताका नाममा दातृ निकायबाट ठूलो मात्रामा रकम ल्याएको तर त्यसको बिबरण दिन नमानेकाले राष्ट्रिय सूचना आयोगमा उजुरी दिनु परेको उजुरीकर्ता अरुणकुमार साहले वताए । मंसिर १२ गते कुपण्डोलस्थित फाउण्डेशनको कार्यालयमा गएर सो सम्बन्धमा सूचना मागेको नदिएपछि आयोग मार्फत सूचना मागेको उनले वताए ।
साहले सूचना आयोग मार्फत फाउन्डेसनले सञ्चालन गरेको ४ वटा बिषयमा जानकारी माग्दै कानुन बमोजिम निवेदन दिइएको वताए । गभर्नेन्स् इन मधेस–२०१४’ को प्रोजेक्ट, बेसलाइन एन्ड सिटिजन प्रि–क्रिप्सन सर्भे–२०१६, स्पेक्ट्रम कन्सल्टमार्फत मिथिला क्षेत्रमा सञ्चालन गरेको ‘स्टे«न्थ भ्वाइस एन्ड अकाउन्टेवल गभर्नेन्स परियोजना कुन दातृ निकायबाट ल्याइएको हो ?’ कहाँ कहाँबाट कति रकम आयो ? कुन कुन कार्य गरियो र कति खर्च भयो ?’ निवेदनमा उल्लेख छ ।
मधेस फाउण्डेशनका नाममा बिगत ४ वर्षमा आएको रकम र भएको खर्च तथा उपलब्धि बारे जानकारी दिन निवेदनमा माग गरिएको छ । निवेदक साहले भने सूचनाको हक संवन्धी ऐन २०६४ बमोजिम कानुनले प्रमाणित गरेका कागजपत्रमार्फत जवाफ पाउनु पर्ने माग लिखित रुपमा नै गरेका छन् ।
के हो मधेस फाउण्डेशन ?
मधेसी जनताको नाममा उनीहरुका हक अधिकारको पैरवी गर्ने उद्धेश्यसाथ गठित गैर सरकारी संस्था हो । डेनमार्क सरकार र अन्य युरोपेली एनजीओ मार्फत तीन पटक गरी १२ करोड भन्दा बढी लगानी फाउण्डेशनमाथि भएको वताइन्छ । मधेसी जनतामाथि राज्यले विभेद गरेको रिपोर्ट प्रस्तुत गर्नेदेखि समाजमा युरोपियन मिसन अनुरुपका अभियान चलाउने र सोही अनुरुपका विचार र कार्यक्रम निर्माण गरी प्रचार प्रसार गर्ने काम फाउण्डेशनले गर्दै आएको वताइन्छ ।
गतसाल युरोपेली राजदूतहरुलाई तराई पृथकताबादी सीके राउतसँग भेट गराउने काममा पनि फाउण्डेशन निकट विजयकान्त कर्णले भूमिका निर्वाह गरेको समाचार आएको थियो । कर्ण डेनमार्कका लागि पूर्व नेपाली राजदूत पनि हुन् ।
नेपालका जातीय समुदायबीचको एकता भड्काउन अधिकारको आफ्नै परिभाषा तयार गर्ने र सो अनुसारको शिक्षा दिने काममा फाउण्डेशन र सञ्जाल सक्रिय रहेको आरोप लगाउनेको संख्या ठूलो रहेको चक्रपथमा समाचार छ ।