४ असोज, काठमाडौं । भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च सुरक्षा घेराभित्र कैलालीको टीकापुर घटनाका आरोपी तथा नेपाली सुरक्षा निकायका ‘वान्टेड’ सूचीमा रहेका फरार अभियुक्त रेशम चौधरीलाई भेटेको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयले भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उपस्थित भएका चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएको बताएको छ ।
भ्रमण अवधिमा प्रधानमन्त्रीको चौधरीसँग भेटघाट गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘सार्वजनिक कार्यक्रममा को–को आए, के मनसायले आए भन्ने थाहा नहुने भएकाले यस्तो विषयलाई लिएर टीका टिप्पणी गर्नु उपयुक्त हुँदैन ।’
यसअघि विभिन्न सञ्चार माध्यममा ‘प्रधानमन्त्री दाहालले टीकापुरमा गतवर्ष दुईवर्षे बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका मुख्य अभियुक्तलाई ताजमहल होटेलमा भेटेका लगायतका समाचार प्रकाशित भएका थिए ।