प्रधानमन्त्री प्रचण्ड र नेपालका लागि हंगेरियन राजदूत पेथो बीच भेटवार्ता

DSC9649-600-300

२२ बैशाख ०७४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि हंगेरियन राजदूत ग्युला पेथो बीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षीय, विकास र समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो ।

दुई पक्षीय भेटमा प्रधानमन्त्री प्रचण्डले विश्व विकासको बहुआयमिक सम्भावनातिर लम्किरहेको र नेपालले पनि राजनीतिक स्थिरता, विकास र समृद्धिको मार्ग पछ्याइरहेको बताए ।

भेटमा प्रधानमन्त्रीले नेपाल सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनमा सम्पूर्ण पार्टीहरु होमिएको पेथोलाई जानकारी दिँदै निर्वाचनले जनतामा ठूलो उत्साह पैदा गरेको साथै एकैचोटी हजारौं जनप्रतिनिधिहरु निर्वाचित भएर आउँदा राजनीतिक स्थिरता र विकासले गति लिने बताए ।

सो अवसरमा राजदूत पेथोले पछिल्लो समयमा नेपालले हासिल गरेको आर्थिक प्रगतिप्रति खुसी व्यक्त गर्दै नेपालको विकास र राजनीतिक स्थिरताका लागि हंगेरियाको सधैं सहयोग र सद्भाव रहने बताएका छन् ।

तपाइको मत