प्रदेश ५ को प्रादेशिक योजना आयोगमा डा.श्रेष्ठ नियुक्त

६ चैत्र ०७४, बुटवल। प्रदेश ५ को प्रादेशिक योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

मंगलबार मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका निर्देशक श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ । प्रादेशिक योजना आयोगले तत्कालै काम थाल्नेछ ।

आयोगले पहिलो चरणमा प्रदेशभित्र गर्न सकिने विकास निर्माणका संभावनाहरु पहिचान गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन प्राथमिकता दिने सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए ।

योजना आयोगमा एकजना महिला सहित २ जना विज्ञ सदस्यको रुपमा एक हप्ताभित्र नियुक्त हुनेछन् ।

मन्त्रिपरिषद वैठकले मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार शेरबहादुर केसीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । केसी नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष हुन् ।

वैठकमा मुख्य मन्त्री शंकर पोखरेलले नवनियुक्त मन्त्रीहरुलाई एक हप्ता-दश दिनभित्र आआफ्ना मन्त्रालयको वर्तमान अवस्थाबारे लिखित जानकारी (सिचुएसनल पेपर) दिन निर्देशन दिएका प्रवक्ता चौधरीले जानकारी दिए ।

‘संघीय सरकारबाट हस्तान्तरित १ अर्ब २ करोड वजेट कुन कुन शिर्षकमा खर्च गर्न उपयुक्त हुन्छ भन्ने सुझावसहितको सिचुयसनल पेपर तयार गर्न मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ’ प्रवक्ता चौधरीले बताए ।

तपाइको मत