१९ फागुन ०७७, विराटनगर । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल थप २ हप्ता धकेलिएको छ ।
प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना जारी गर्दै फागुन २० गतेका लागि बोलाइएको बैठक विशेष कारणले सरेको जानकारी दिएसँगै अविश्वास प्रस्तावमाथिको छलफल थप २ हप्ता धकेलिएको हो ।
फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए ।
प्रदेशसभा सचिवालयले बुधबार सूचना टाँस गरेर अबको बैठक चैत २ गते सोमबार १२ः३० बजे बस्ने जानकारी दिएको छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा (प्रचण्ड माधव समूह)ले पुस १२ गते अविश्वास प्रस्ताव पेश गरेको थियो ।