८ मंसिर ०७८, काठमाडौं । पुँजीगत खर्च नबढेकोप्रति अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्टी व्यक्त गरेका छन् ।
बुधबार अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८/७९ को प्रथम प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो असन्तुष्टी व्यक्त गरेका हुन् ।
विद्यमान प्रणालीबाट खर्च हुन नसक्ने हो भने आफूले नयाँ तरिका सोच्न बाध्य हुने उनको भनाइ छ । अर्थमन्त्रीले हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च बढाउने लक्ष्य चालु आवको बजेटमा राखेका थिए । तर, खर्च भने पछिल्लो चार महिनामा ५ प्रतिशत पनि नाघ्न सकेको छैन ।
पुँजीगत खर्च नबढेकोप्रति असन्तुष्ट अर्थमन्त्रीले विद्यमान प्रणालीमा थप एक महिना कुर्ने र त्यसपछि पनि खर्च नबढे नयाँ विकल्पमा जाने उनको भनाइ छ । ‘यदि पुँजीगत खर्च यो तरिकाले हुन्न भने म अर्को तरिका सोच्दैछु’, उनले भने, ‘अरू एक महिनासमेत पर्खेर हुँदैन भने नयाँ तरिकाबाट खर्च गर्नुपर्छ भन्ने मान्यता छ । खर्च चाहिँ जसरी पनि गर्नुपर्छ ।’