३ साउन ०७७, बागलुङ । जिल्लाको गल्कोट नगरपालिका १० स्थित पाण्डवखानीमा केही दिनदेखि देखापरेको सलहले किसानको बालीनाली खाएर क्षति पु-याएको छ ।
पाण्डवखानी उच्च माध्यमिक विद्यालयका शिक्षक लिलबहादुर काउचा ‘राजु’ले पाण्डवखानीमा सहल किराले किसानको खेतीपाती खाएर पूर्ण क्षति पु-याएको जानकारी दिए ।
असार १५ मा पहिलो पटक पाण्डवखानीमा सलह किरा देखिएको भन्दै उनले त्यतिबेला खेतीपातीमा समान्य क्षति गरे पनि यसैहप्ता ठूलो झुण्डका आएको सलहले ठूलो मात्रामा मकै लगायतका बाली नास गरेको बताए ।
‘पहिलोपटक आउँदा थाल ठटाएर, आगो बालेर धुवाँ लगाएर धपाएका थियौं, यसपटक आएको सलहको झुण्डलाई लखेटेर साध्यै भएन,’ शिक्षक काउचाले भने, लाखौंको संख्यामा आएको सलहले मकै, कोदो साथै धान खाएर पूर्णक्षति पु-याएको छ ।’
उनले किसानको खेतीबालीमा बसेको सलह किरालाई स्थानीयहरुले समाएर पानीमा उमालेर टाउको, पँखेटा र खुट्टा फालेर तरकारीका रुपमा पकाएर खाने गरेको पनि बताए ।
यस्तै स्थानीय लेङ्गुरेका दिलिप पुनले शनिबार बिहान मात्रै १ बोरा सहल किरा टिपेको बताए । उनले सहललाई फ्राई गरेर खाँदा झिँगेमाछाको जस्तै स्वाद हुने बताए ।
पाण्डवखानीमा फुस्रो–फुस्रो, पहेँलो–पहेँलो र सेतो–सेतो तीन रङको सलह किराको झुण्ड आएको बताउँदै स्थानीयहरुले रातमा सलह बास बसेको जंगलका रुखहरु समेत पातबिहीन बनाएको बताएका छन् ।