नेपाली सेनाका सहायक रथी राणासहित तीन जना सेवाबाट बर्खास्त

काठमाडौं । सैनिक अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी प्रयोगजंग राणासहित तीन जनालाई सेवाबाट बर्खास्त गरेको छ ।

आइतबार सहायक रथी राणासहित महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी सैनिक अदालतले सैनिक ऐन, २०६३ बमोजिम फैसला गरेको हो ।

सैनिक स्रोतका अनुसार वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको ठहर भएपछि उनीहरुलाई सेवाबाट हटाइएको हो ।

गत जेठदेखि सेनाको राष्ट्रिय सेवा दलमा थुनामा रहेका सहायक रथी राणाले १ करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ २९ पैसा हिनामिना गरेको ठहर भएको स्रोतले बताएको छ । सुरुमा ८ करोड रुपैयाँ घोटालाको आरोप लागेको राणालाई बिगोबमोजिमको रकम असुल गराएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी करबाही गरिएको छ ।

यस्तै सैनिक अदालतले तीन जनाको घटुवा र दुई सैनिकलाई सफाइ समेत दिएको छ । सो प्रकरणमा मुछिएका सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा गर्ने निर्णय सैनिक अदालतले गरेको छ ।

यसैगरी प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त)लाई सफाइ दिने फैसला भएको छ ।

साथै, महासेनानी सिलवाललाई १५ लाख ७८ हजार ४ सय ८० रुपैयाँ बिगोबमोजिमको रकम असुल गराएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर नहुने गरी करबाही गरिएको छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले सेनाभित्र भ्रष्टाचार, अनियमितता भएको गुनासो आउन थालेसँगै ती र त्यस्ता गतिविधिविरुद्ध कडा कदम चाल्दै आएका छन् ।