१ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट (पार्टी) नेकपाको स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्ने भएको छ ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटाले स्थायी कमिटीको अर्को बैठक ५ पुस गते र केन्द्रीय कमिटी बैठक पुस १० गते बस्ने तय भएको बताएका हुन् ।
उनले आज बसेको स्थायी कमिटी बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने साथै राष्ट्रपति समक्ष संसदको अधिवेशनको माग गर्दै पेश गरिएको आवेदन पनि फिर्ता गर्ने सर्वसम्मत निर्णय गरिएको पनि जानकारी दिए ।
यस्तै संवैधानिक नियुक्तहरु सहमतिमा मात्र टुङ्ग्याउने, बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल हुने भन्दै प्रेस सल्लाहकार सापकोटाले ‘राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित’ भएको पनि बताए ।
चर्को आलोचनापछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता सहमत
प्रधानमन्त्री ओलीले मंगलबार पार्टीको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध भएपछि संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ल्याएका थिए भने सो अध्यादेश सरकारले सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले हिजै जारी गरेकी थिइन् ।
अध्यादेश ल्याइएपछि सत्तारुढ दल नेकपाभित्रैबाट ओलीको चर्को आलोचना भएको थियो भने प्रतिपक्षी दल नेपाली काँग्रेस लगायतका दलले समेत चर्को विरोध गरेका थिए ।
यस्तै आजै नेकपा स्थायी कमिटीका सदस्य भीम रावल र पम्फा भुसालले ८३ जना सांसदहरुको हस्ताक्षरसहितको अबिलम्ब संसद अधिवेशन बोलाउन माग गरिएको पत्र लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएको खबर आएपछि राष्ट्रपति निवासमा करिब ६ घण्टा बिताएका रावल र भुसाल साँझ सवा ६ बजे मात्रै फर्किएका छन् ।