नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

१० असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

नेकपाका एक स्थायी कमिटी सदस्यले आजको बैठकमा सरकारले अहिलेसम्म गरेका काम र पार्टीको समीक्षा, संगठनात्मक एकीकरण, अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका विषयमा छलफल हुने बताए ।

उनले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको कामको गम्भीर समीक्षा हुने बताए । साथै, जनताबाट अस्वीकृत देश र जनताको हित विपरीत रहेको एमसीसीलाई स्वीकार गर्न नसकिने पनि उनले जानकारी दिए ।

नेकपाको सचिवालय र स्थायी कमिटी साथै केन्द्रीय समितिमा समेत एमसीसी सम्झौता संसदबाट पास गर्न नहुने मत बलियो रहेको छ ।

केन्द्रीय समितिको बहुमत एमसीसीविरुद्ध रहेकैले पछिल्लो केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल नै गठन गरेको थियो भने सो कार्यदलले पनि बिना संशोधन एमसीसी पास गर्न नहुने सुझावसहितको प्रतिवेदन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई बुझाएको थियो ।