नेकपाको केन्द्रीय समिति बैठक एक महिनापछि धकेलियो

१२ कार्तिक ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको सहमतिमा बैठक सारिएको बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार जारी विज्ञप्तिमा कोभिड–१९ का कारण हाललाई बैठक स्थगित गरी आगामी मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने जनाएको छ ।

नेकपा केन्द्रीय समितिको बैठक यही कार्तिक १५ देखि १७ गतेसम्म बस्ने तय भएको थियो ।

“नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ,” विज्ञप्तिमा भनिएको छ, “स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिनेछ ।”