१८ पुस ०७४, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ ।
सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको बताएको छ ।
नारायणढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीलाई दासढुंगाको मानवबस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिएको छ भने ट्रकलाई भतेरी र रामनगरको जङ्गल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको छ ।
काठमाण्डौंतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिन बजार र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ भने तनहुँतर्फबाट आउने सवारीलाई पुलपारि नै रोक्ने व्यवस्था गरिएको छ ।
ट्राफिक प्रहरी कार्यालयले आज सूचना जारी गरी सो मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई सडक बन्द हुने समय मिलाई आवतजावत गर्न आग्रह गरेको छ ।
सूचनामा काठमाडौँबाट छुट्ने बस र साना सवारीलाई राति १० बजेभित्र मुग्लिन बजार पार गर्ने गरी आउन भनिएको तथा मुग्लिनतर्फ जाने सवारीलाई बिहान ३ बजे रामनगर पार गर्ने गरी समय व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
काठमाण्डौंबाट नारायणगढतर्फ आउने मालवाहक ट्रकलाई राति ९ बजेभित्र लेवाटार पार गर्ने गरी सञ्चालन गर्न आग्रह गरिएको छ । अन्यथा ती सवारी लेवाटारमा रोकिने छन् । मुग्लिनतर्फ जाने ट्रकलाई राति ९ बजेपछि रामनगरको भतेरी जंगल इलाका पार गरिसक्न आग्रह गरिएको छ ।
नारायणढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले सडकखण्डको १६ किलो र २२ किलोमा पाँच सय मि र ३३ किलोमा तीन सय मि भित्तो काट्ने काम अझै बाँकी रहेको बताए ।
खनालले हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको बताए । उनका अनुसार हालसम्म १३ दशमलव ५ किमी सडक एक तह कालोपत्र भएको छ । सो सडक तीनपत्र कालोपत्र गरिँदैछ ।