२ असार ०७७, काठमाडौं । बन्दाबन्दीकाे बिच दश दलीय मोर्चाले मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) खारेजीको माग गर्दै बिराेध कार्यक्रम गरेको छ ।
मंगलबार माइतीघर मण्डलामा आयोजना गरिएको विरोधसभामा दश दलीय माेर्चाका नेताहरुले एमसीसी राष्ट्रघाती रहेको भन्दै खारेज गर्नुपर्ने बताएका हुन् ।
विराेधसभालाई सम्बाेधन गर्दै नेताहरूले एमसीसी अमेरिकाको सैन्य परियोजना रहेको र याे कम्प्याक्ट संसदबाट पास भए नेपाल अमेरिकाको कठपुतली देशमा परिणत हुने भन्दै एमसीसी सम्झौता खारेज गर्नुपर्ने बताए ।
माेर्चाले नेपालकाे अद्यावधिक नक्सा सार्वजनिक गरेर राष्ट्रवादी छवि बनाएकाे सरकार राष्ट्रघाती सम्झौता संसदबाट पास गर्न उद्दत रहेकाले सरकारी रवैयाकाे भण्डाफाेर गर्दै एमसीसी सम्झौता खारेज गर्न संघर्ष गर्नुपर्ने जाेड दिएका थिए ।
दश दलीय संयुक्त विरोधसभामा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परि थापा, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (क्रान्तिकारी माओवादी)का पाेलिटब्युराे सदस्य दिनेश शर्मा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरी, नेकपा (माले) का पाेलिटब्युराे सदस्य सुरेन्द्र ढकाल, जनसमाजवादी पार्टीका उपमहासचिव डम्मर कार्की, नेकपा (माओवादी–केन्द्र) का पाेलिटब्युराे सदस्य तिलक थापा मगर, नेकपाका केन्द्रीय उपाध्यक्ष लोकनारायण सुवेदी, नेकपा (संयुक्त) का नारायण थापा र राष्ट्रिय जनजागरण परिषद्का सुधीर कर्माचार्य लगायतले आ-आफ्ना धारणा राखेका थिए ।