चार पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध मुद्दा दर्ता

२२ माघ ०७६, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने संलग्नमाथि चार पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा दर्ता भएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीहरू विजय कुमार गच्छदार, चन्द्रदेब जोशी, डम्बरबहादुर श्रेष्ठसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दर्ता गरेको हो ।

त्यसैगरी पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्नेत, शोभाकान्त ढकाल, ब्यापारी मीनबहादुर गुरुङविरुद्ध पनिे मुद्दा दायर गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

पूर्व सचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले भूमाफिया र उनीहरूलाई सहयोग गर्नेहरूको नामै किटेर कारवाही गनुपर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिआईबी र भूमि व्यवस्था मन्त्रालयले यो विषयमा अनुसन्धान गरेको थियो ।