६ कार्तिक ०७४, काठमाडौं । गोंगबुस्थित शिवमन्दिर शान्ति चोकबाट चार जना हतियारसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बाका १९ वर्षीय भिम भन्ने जीबन श्रेष्ठ, सोही ठाउँका सुबास लामा योन्जन, मकवानपुर भिमफेदीका कुमार अधिकारी र काभे्रको छेडा घर भएका राज भन्ने टिका श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारेर शरिर खानतलासी गर्दा जीबन श्रेष्ठले बोकेको झोलाबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग भएको गोली एक थान बरामद भएको थियो ।
सो समूहले प्रयोग गर्दै आएको ना.३७ प ९३८० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउमा परेका ब्यक्तिहरुलाई हतियार तथा खरखजाना सहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
यसैबीच खुनडाँका मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले १० वर्ष पछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिकाका ८ तिलाचौर घर भएका ३६ वर्षीय प्रकाश ठगुन्ना छन् ।
पृथ्वी मल्ल भनेर चिनिने उनलाई नेपाल प्रहरीको अपराध महाशाखाबाट खटिएको प्रहरी निरीक्षक रोशन खड्का समेतको टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिकाबाटै पक्रेको हो ।