२४ साउन ०७७, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
शनिबार गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले गृहमन्त्री थापाको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।
कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजिकको सम्पर्कमा परेपछि बिहीबार गृहमन्त्री थापासहित सुरक्षा र राजनीतिक सल्लाहकारको स्वाब संकलन गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एक कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी भएका थिए । त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोभिड–१९ पुष्टि भएपछि ‘क्लोज कन्ट्याक’मा रहेका गृहमन्त्रीसहित सहभागी टोलीको स्वाब परीक्षण गरिएको थियो ।
गृहमन्त्री थापा, सुरक्षा सल्लाहकार डा इन्द्रजीत राई र राजनीतिक सल्लाहकार सूर्य सुवेदीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
यसअघि प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्डको कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।