गठबन्धन निर्माणमा भूमिका खेलेका नेता र चिनियाँ राजदूतबीच भेटवार्ता

१ साउन ०७८, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गठबन्धन निर्माणसँगै नयाँ सरकार गठनमा भूमिका खेलेका शीर्ष नेतासँग भेटवार्ता गरेकी छन् ।

राजदूत होउ यान्छीले शुक्रबार काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी हुन् ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले आफू नेपाल–चीनसँगको सम्बन्ध बलियो बनाउन चाहेको बताएका थिए । यस्तै राजदूत यान्छीले नेपाललाई थप १६ लाख खोप अनुदानमा उपलब्ध गराउने बताइन् ।

चिनियाँ राजदूतले माओवादी नेता प्रचण्ड र एमाले नेता नेपालसँग भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गरेकी थिइन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा पहिलोपटक प्रतिनिधिसभा भंग गरेपछि नेपालको राजनीतिक अवस्था बुझ्न चीनले एक उच्चस्तरीय राजनीतिक टोली पठाएको थियो भने यसपटक नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे औपचारिक प्रतिक्रिया जनाएको छैन् ।