कानुनी छिद्रको दुरुपयोग रोक्न अन्टुफले थाल्यो जनप्रतिनिधिसँग छलफल

४ साउन ०७८, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुफ’ले मजदुर पक्षीय कानुन कार्यान्वयन गर्दै श्रमिकको अधिकार संस्थागत गर्न सांसद र स्थानीय जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ ।

महासंघले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजना कार्यान्वयन गर्दै श्रमिकको अधिकार संस्थागत गर्न र कानुनी छिद्रको दुरुपयोग रोक्न सांसद र जनप्रतिनिधिहरुसँग छलफल सुरु गरेको हो ।

अन्टुफ कार्यवहाक महासचिव शालिकराम काफ्लेले आइतबार यसैविषयमा बागमती प्रदेश सभा सदस्यहरू र स्थानीय जनप्रतिनिधिहरूसँग एकदिने सात्क्षाकार गरेको जानकारी दिए ।

महासचिव काफ्लेकाअनुसार एकदिने उक्त कार्याशालामा बागमती प्रदेश सभा सदस्यहरू जगत सिम्खडा, राजकाजी महर्जन, सिता अधिकारी, लालकुमारी पुन ‘सुशीला’ साथै काठमाडौं र ललितपुरका स्थानीय सरकारका जनप्रतिनिधिहरूले श्रम ऐनमा रहेका कानुनी छिद्रहरूको दुरुपयोग रोक्दै श्रमिकहरुको पञ्जीकरण र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न, गराउन प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रमको बारेमा आफ्नो धाराणा राख्दै अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य जगत बहादुर सिम्खडाले कार्यस्थलमा मजदुरलाई रोजगारदाताले श्रम गर्ने सवालमा छुट नदिए जस्तै रोजगारदातालाई राज्यको ऐन, कानुन कार्यान्वयन नगर्ने छुट नरहेको बताए ।

अध्यक्ष सिम्खडाले भने, “मजदुरलाई रोजगारदाताले जतिबेला मनलाग्यो त्यतिबेला काममा आउने र बाहिर जाने छुट दिँदैन् । यदि श्रमिकले त्यसो ग¥यो भने रोजगारदाताले खराब आचरणमा प्रष्टीकरण लिएर रोजगारीबाटै निश्कासन गरिदिन्छ । त्यसैले रोजगारदातालाई श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन नगर्ने छुट छैन् ।”

राजनीतिक पार्टीहरूमा सबैभन्दा बढी दलालपूँजीपति वर्गको हावी रहेकाले मजदुर पक्षीय ऐन कनुन प्रभावित भएको भन्दै अध्यक्ष सिम्खडाले आफूहरुको संविधान, श्रम ऐन र सामाजिक सुरक्षा योजनामा रहेका मजदुरका अधिकार पाउनुपर्दछ भन्ने कुरा ओझेलमा परेको बताए ।

यस्तै कार्याशालामा बागमती प्रदेश सभा सदस्य राजकाजी महर्जनले श्रमिकका मुद्दाहरुलाई प्रदेशसभा उठाइने र मजदुर पक्षीय कानुन र यसका दफाहरुको सही कार्यान्वयन गर्न, गराउन साथै कानुनी छिद्रहरुको दुरुपयोग रोक्न पहल गर्ने प्रतिवद्धता जनाए ।

यसैगरी सांसद सिता अधिकारीले अहिलेसम्मका कुनै पनि सरकारले मजदुरका समस्यालाई सही तरिकाले सम्बोधन नगरेको भन्दै आफू निकट पार्टीको सरकारले समेत श्रमिकका आवाज सुन्दैन भने मजदुरहरु चुप लागेर बस्न नहुनेमा जोड दिइन् ।

यस्तै अन्टुफ सचिव समेत रहेकी बागमती प्रदेश सांसद लालकुमारी पुन सुशीलाले संसदमा मजदुरका आवाज उठाउँदै आइरहेको भन्दै आगामी दिनमा समेत श्रमिकका सवालहरुलाई बुलन्द पार्दै श्रमिकै साथमा रहने प्रतिबद्धता जनाइन् ।

यसैगरी कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरु सुबिन्द्र तामाङ (वडा अध्यक्ष एवम् प्रतिनिधि कुंजोसोम गाउँपालिका), सपना परियार (वडा सदस्य तथा प्रतिनिधि चन्द्रागिरि नगरपालिका), मुकुन्द पहारी (वडा अध्यक्ष एवम् प्रतिनिधि गोदावरी नगरपालिका), गोपी सुर्खेती (वडा अध्यक्ष एवम् प्रतिनिधि चन्द्रागिरि नगरपालिका)ले आ–आफनो कार्यक्षेत्रमा कार्यरत श्रमिकको पञ्जीकरण प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

अन्टुफ उपाध्यक्ष जय कार्कीको समन्वय तथा सहजीकरण साथै अधिवक्ता युवराज लुईंटेलले श्रम ऐन र सामाजिक सुरक्षा कार्यान्वयनका चुनौतिबारेमा धारणा राखेको उक्त कार्याशालामा अन्टुफ उपाध्यक्ष एसबी थापा मगरले स्वागत मन्तव्य र कार्यवहाक महासचिव शालिकराम काफ्लेले कार्याक्रम सञ्चालन गरेका थिए ।