१० जेठ ०७४, काठमाडौं । स्थानीय तहको निर्वाचनको प्राप्त पछिल्लो मत परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।
नेकपा एमालेले पछिल्लो मत परिणाम अनुसार १२० स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ ।
यसैगरी नेपाली काँग्रेसले १०४ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ४६ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ भने अन्य दलले ७ स्थानमा विजय हासिल गरेको छ ।
काठमाडौं महानगरपालिकामा एमाले अगाडि
पछिल्लो गणनाअनुसार काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ४१११५ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । उनलाई पछ्रयाउँदै नेपाली काँग्रेसका राजुराज जोशीले २९२३० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।
भरतपुर महानगरपालिकामा एमाले अगाडि
भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवालीले २६४१४ मत ल्याई पहिलो स्थान लिइरहेको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रका रेणु दाहाल २२८६९ मत ल्याएर दोस्रो स्थानमा रहेकी छिन् ।
पोखरा महानगरपालिकामा एमालेको अग्रता
यसैगरी पछिल्लो गणनाअनुसार पोखरा महानगरपालिकाको नेकपा एमालेका मान बहादुर जिसीले ३३३०४ मत ल्याई पहिलो स्थान प्राप्त गरेको छ ।
यसैगरी नेपाली काँग्रेसका रामजी कुँवरले २७८४२ मत ल्याएर दोस्रो स्थानमा रहेको छ ।