१२ बैशाख ०७७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै अध्यादेश फिर्ता लिएकामा धन्यवाद दिएका छन् ।
सभापति देउवाले शुक्रबार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिएकोमा धन्यवाद दिँदै कोरोनाको जोखिमसँग लडिरहँदा थप विवादका कुनै कुरा नल्याई सजग हुन आग्रह सुझाएका हुन् ।
यस्तै कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस नोटमा प्रधानमन्त्रीले गल्ती सच्याएकामा धन्यवाद व्यक्त गरिएको छ ।
प्रेस नोटमा भनिएको छ, ‘दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो, त्यसका लागि धन्यवाद छ ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार ‘प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा एक घन्टा छलफल भएको र त्यसपछि अध्यक्ष प्रचण्डसहित तीनजनाबीच छलफल भएको थियो ।
सल्लाहकार थापाले भने, “कांग्रस सभापति देउवा बालुवाटारबाट बाहिरिएपछि प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।”
यही बैशाख १२ गते राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मन्त्रीपरिषद्बाट पारित गराई राष्ट्रपतिबाट समेत सोही दिनै जारी भएसँगै प्रधानमन्त्री ओली पार्टीभित्र र बाहिर चर्को विवादमा तानिएका थिए ।