१६ असोज ०७४, नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमै मधेसवासीकाे हित र भावनाअनुसार संविधान संशोधन गरिने बताएका छन् ।
रुपन्देहीको मझगाँवामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले अब हुने सबै निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आह्वान गरे ।
कांग्रेस सभापति समेत रहेका देउवाले प्रदेश र संघीय निर्वाचन भएमा संविधानको पूर्ण कार्यान्वयन हुने र लोकतन्त्रले पनि स्थायित्व पाउने भन्दै त्यसका लागि सबै एकजुट भई लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनका लागि कांग्रेसले अब मधेशीसहित सबै वर्गको चाहनानुसार संविधानलाई संशोधनमार्फत पूर्णता गराउने प्रतिबद्धता व्यक्त गरे ।
अब देशको विकास, गाउँको विकास र जनताको विकासमा कांग्रेस लाग्ने नेता पौडेलले बताए ।