एमालेमा प्रवेश गरेका चार प्रदेशसभा सदस्य पदमुक्त

३० चैत्र ०७७, जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका प्रदेश २ का चार जना प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख सरोजकुमार यादवले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर पदमुक्त भएको जानकारी दिएका हुन् ।

त्यसअघि माओवादी केन्द्रले चार प्रदेशसभा सदस्यले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ को उपदफा १ बमोजिम दल त्यागको सूचना दिएको थियो ।

पदमुक्त भएका मण्डल धनुषा क्षेत्र नम्बर १ को ख, साह बारा क्षेत्र नम्बर ३ को क र कुशवाहा रौतहट क्षेत्र नम्बर ३ को ख बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन भने बाराका समीर समानुपातिकतर्फबाट निर्वाचित हुन् ।