२१ भदौ ०७७, काठमाडौं । स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आज बसेको बैठकले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड-१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिँदै वीर अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
हाल उपत्यकामा कोभिड-१९ बाहेकका अन्य बिरामीको उपचार नगरिने कोरोना अस्पतालकारुपमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेका छन् ।
बैठकले स्वास्थ्यसम्बन्धी विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीलाई समेत मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरेको छ ।