आज नागपञ्चमी : नागको पूजा र तस्बिर मूलढोकामा टाँसेर मनाइँदै

२९ साउन ०७८, काठमाडौं । आज नागपञ्चमी । देशभर हिन्दु धर्मावलम्वीहरुले घरको मूलढोकामा नागको तस्बिर टाँसेर नागपञ्चमी मनाउँदै छन् ।

परम्पराअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा नागको पूजा अर्चना गरी घरको मूल ढोकामा नागको तस्वीर टाँस्दा घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने कथन छ ।

यस्तै प्रत्येक घरमा नाग रहेका हुन्छ र घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वास रहेकाले पनि नाग पूजा गर्ने परम्परा छ भने अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

देशभर नागदह, कुण्ड र पँधेरा नजिक नाग स्थान बनाई विशेषरूपमा गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकारको प्रसाद बनाएर नागलाई चढाउने प्रचलन पनि छ ।