९ भदौ ०७४, काठमाडौं । यातायात व्यवस्था विभागले शुक्रबारदेखि मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको ‘हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट’ को दर्ता सुरु गरेको छ । विभागका अनुसार पहिलो चरणमा वाग्मती अञ्चलमा दर्ता रहेका सवारी साधनमा यो नम्बर प्लेट प्रयोग गरिनेछ ।
यातायात व्यवस्था विभागले अाजबाट साना ठूला सवारी कार्यालय एकान्तकुना र दुईपंग्रे सवारी कार्यालय मातातीर्थले अनलाइन आवेदन खुलाएका छन् ।
आइतबार विभागले आफ्ना स्वामित्वको सवारीमा पहिलो पटक इम्बोस्ड प्लेट जडान गर्नेछ । आफ्नो सवारीमा इम्बोस्ड जोड्न चाहानेले विभागको वेबसाइटमा उपलब्ध अनलाइन सिस्टममा आफ्नो सवारी नम्बर रजिष्ट्रेशन गराउनुपर्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेलेले जानकारी दिए । ।
अनलाइनमा सवारी नम्बरसहित आवश्यक विवरण इन्ट्री गरेपछि सिस्टमले नै सवारी धनि कहिले यातायात कार्यालयमा उपस्थित हुने भन्ने जानकारी गराउनेछ । सोही मितिमा सवारी धनीले सवारीका सबै कागजातसहित यातायात कार्यालयमा पुगेर आफ्नो बायामेट्रिक दिएर फारम भर्नुपर्नेछ ।
यातायात कार्यालयले आफूले लिएको विवरण अनुसार इम्बोस्ड छाप्ने जिम्मा पाएको डेकाटोर-टाइगरको कारखानामा प्लेट छाप्न पठाउनेछ । कारखानाले प्लेट छापेर पुनः सम्बन्धित कार्यालयमा पठाउनेछ । विभागले सवारीको फोटोसहितको विवरण राखेर त्यसमा प्लेट जडान गरिदिनेछ ।
इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न, चोरी गाडी दर्ता गर्न, निजी, सरकारी, कूटनीतिक लगायतका सवारी साधनका धनी र साधनको विवरण तथा राजस्व असुलीको अवस्थाबारे बुझन सहज हुनेछ । साथै कुन सवारी साधन कुन नाकाबाट उपत्यका बाहिर कतिपटक आवतजावत गर्यो भन्ने कुरा पनि सजिलै पत्ता लगाउन सकिने जानकारी विभागले दिएको छ ।
राष्ट्रपतिको सवारीमा नेपाली झन्डा, झन्डामुनि माथिबाट हल्का निलो रङ हुँदै तल गाढा निलो रङ, ‘एनईपी’ अक्षर र अक्षरमुनि लालीगुराँससहित नेपालको निसान छाप भएको नम्बर प्लेट हुनेछ । सार्वजनिक सवारी (व्यावसायिक प्रयोजन) मा पहेंलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो, सरकारीमा सेतो प्लेटमा रातो, कूटनीतिको सवारीमा सेतो प्लेटमा निलो अक्षरले लेखिनेछ । नयाँ प्रविधिको नम्बर प्लेट लिन मोटरसाइकलका लागि २ हजार ५ सय, ३ पांग्रे सवारीका लागि २ हजार ९ सय, चार पांग्रेका लागि ३ हजार २ सय र ठूला सवारीका लागि ३ हजार ६ सय रुपैयाँ शुल्क लाग्नेछ ।