२५ माघ ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ ।
अध्यक्ष प्रचण्ड र ओलीबीच ललितपुरको मानभवनको एक घरमा करिब सवा घन्टा छलफल भएको हो । छलफलमा बुधबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।
छलफलमा नयाँ सरकार गठन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ । आजको छलफलमा शुक्रबार एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको छ । एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ ।
प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा वाम गठबन्धन बनाएर सफलता पाएका दुई शीर्ष नेताले पार्टी एकताको प्रक्रियालाई औपचारिक रुपमा अगाडि बढाउन नसकेको भन्दै आलोचना भइरहेका बेला भएको यो भेटलाई महत्वका साथ हेरिएको छ ।
दुई पार्टी एकताका लागि बनेको संयोजन समितिले एकताका विषयमा निर्णय गर्ने जिम्मा ओली र प्रचण्डलाई दिइसकेको छ ।