जातीय क्लस्टर अनुसार संघीयता बनाउँदा के बिग्रिन्छ ? – भट्टराई

१३ चैत, धनगढी । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले महाकाली सन्धी गर्ने केही भुईंफुट्टा मानिसहरु मुलुकको एकता भाँड्न लागिपरेको आरोप लगाए ।

नयाँ शक्तिको हिमाल-पहाड-तराई-मधेस अभियान अन्तर्गत आइतबार धनगढीमा आयोजित अन्तिम सभालाई सम्बोधन गर्ने क्रममा केपी ओलीप्रति लक्षित गर्दै संयोजक भट्टराईले देशको एकता भाँड्न केहि तत्व सक्रिय रहेको आरोप लगाएका हुन् ।

‘केही भुईंफुट्टा मानिसहरु जसले महाकाली जस्तो राष्ट्रघाती सन्धी गरे’ भट्टराईले भने, ‘तिनलाई प्रश्न गर्न चाहन्छु कि देशलाई एकतावद्ध गर्नेविरुद्ध बिष बमन गरेर अराजकता बढाउन खोजेको ?’

‘संघीयता भनेको अलग घर बनाउने होइन, एउटै घरमा अलग कोठा बनाउने हो । अखण्ड र सार्वभौम नेपालभित्र उनीहरुको ऐतिहासिक थातथलोलाई सीमांकन गरेर बनाइने संरचना नै संघीयता हो ।’ भट्टराईले भने, ‘जातीय क्लस्टर अनुसार ऐतिहासिक थातथलो नबिग्रने गरी संघीयता बनाउँदा के बिग्रिन्छ ?’

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सबैलाई समृद्ध बनाउने आफ्नो साझा सपना भएको बताएका छन् ।

तपाइको मत