सप्तरीमा शिक्षा योजना बन्ने !

20161220_133315

६ पुस, सप्तरी । सप्तरी जिल्लामा शिक्षा योजना बन्ने भएको छ । शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि योजना बनाइने भएको हो ।

आसमान नेपालको सहकार्यमा जिल्ला शिक्षा कार्यालय सप्तरीका बैठकले जिल्ला शिक्षा योजना बनाउने निर्णय गरेको छ । कुनै पनि कार्यका लागि योजना अपरिहार्य रहेको बताउँदै शिक्षा अधिकारी दोलराज पाण्डेले जिल्लामा धेरै पुरानो शिक्षा योजना रहेको र अब नयाँ योजना बनाएर शिक्षालाई अगाडि बढाउने बताए ।

बैठकले शिक्षा योजना बनाउनका लागि समिति गठन गरेको छ । शिक्षा अधिकारी पाण्डेको संयोजकत्वमा बनेको समिति सदस्यहरुमा सहायक शिक्षा अधिकारी रामदेव चौधरी, विद्यालय निरीक्षक देवशंकर यादव, श्रोत व्यक्ति देवकुमार यादव र भोगेन्द्र प्रसाद यादव तथा शिक्षा कार्यालयका कम्प्युटर फाँटका मनोज भट्टराई छन् ।

सात सदस्यीय समितिमा एक जना पछि थप गरिने शिक्षा अधिकारी पाण्डेले जानकारी दिए । बैठकमा आसमान नेपालका जिल्ला संयोजक श्रवण देवले अहिलेसम्म भएका गतिविधीका साथै विद्यालय शान्ति क्षेत्र, विद्यालयभन्दा बाहिर रहेका बालबालिका र भर्ना सम्बन्धमा जानकारी गराएका थिए ।

बैठकमा शिक्षा अधिकारी, सहायक शिक्षा अधिकारीसहित विद्यालय निरीक्षक र श्रोत व्यक्तिहरुको सहभागिता रहेको थियो । शिक्षा अधिकारी पाण्डेले चाँडै जिल्ला शिक्षा योजना तयार गरिने जानकारी दिए ।

युनिसेफको सहयोगमा आसमान नेपालद्वारा सञ्चालित गुणस्तरीय समावेशी शिक्षाका लागि स्थानीय निकायको सवलीकरण कार्यक्रम अन्तर्गत शिक्षा कार्यालयको समन्वयमा जिल्ला शिक्षा योजना बनाइने भएको छ ।

तपाइको मत