ट्रम्पको अनुसन्धानमा संलग्न १२ जना वकिल बर्खास्त

१५ माघ ०८१, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०२० को चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको विषयमा अनुसन्धानमा संलग्न १२ जना वकिलहरु पदबाट बर्खास्त भएका छन् ।

सीबीएस न्यूजका अनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिलहरुलाई पदबाट हटाउने निर्णय गरेका हुन् । बर्खास्तमा परेकाहरु विशेष वकिल ज्याक स्मिथको टिमका सदस्यहरु हुन् ।

अनुसन्धानका लागि स्मिथलाई विशेष वकिलको रुपमा नियुक्त गरिएको थियो । तर सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्प विजयी भएपछि अनुसन्धानको फाइल बन्द गरिएको थियो । ट्रम्पले पद सम्हालेलगत्तै उनीहरुलाई पदबाट हटाउने घोषणा गरेका थिए ।

राष्ट्रपति ट्रम्पका नीतिलाई उनीहरुले राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै पदबाट हटाइएको ती अधिकारीले जनाएका छन् ।

२०२० को चुनाव जो बाइडनले जित्ने निश्चित भएपछि ट्रम्प समर्थकहरु तोडफोडमा उत्रिँदा स्थिति तनावपूर्ण भएको थियो ।